बिर्तामोड ।
अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले बिर्तामोडमा आइतवार( आज) १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, विविध कार्यक्रम गरी मनाएको छ ।
महासंघको आयोजना भएको श्रमिकहरुले र्यालीसहित कोसभामा गर्दै एकअर्काप्रति शुभकामना आदानप्रदान गरेका थिए । महासंघ झापा अध्यक्ष सिता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ प्रदेश इन्चार्ज भूपाल सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड गठबन्धनका उपमेयरका उम्मेद्वार सीपी कडरिया, मेयरका उम्मेद्वार भोजराज सिटौला, नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य कुवेर श्रेष्ठ (अरुण) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत महासंघ झापा सचिव अभिनाष धितालले गरेको कार्यक्रमको सञ्चालन अखिल नेपाल यातायात मजदुर संघ झापा अध्यक्ष हरि निरौलाले गरेका थिए ।
‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन् १८८६ मा अमेरिकाको शिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसपछि सन् १८९० देखि मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विराटनगरमा वि सं २००७ मा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो ।