बिर्तामोड । 

आसन्न बैशाख ३० को स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न झापाको झापा गाउँपालिकाका उम्मेदवारहरुले सात बुंदे प्रतिवद्धता जनाएका छन् । 

संवाद समूह झापाको संयोजनमा शुक्रबार कुमरखोदमा भएको छलफलमा सहभागी उम्मेदवारले बैशाख ३० को स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, उत्साहजनक जनसहभागिता र व्यवस्थित रुपमा सम्पन्न गराउन सहयोगी सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

 गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारहरुले निर्वाचन आचार–संहिता पूर्ण पालना गर्ने, कुनै पनि चुनावी एवं राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने, आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचनलाई द्वन्द्वरहित बनाउने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै उनीहरुले निर्वाचन प्रचार–प्रसारलाई तडक–भडकरहित कम खर्चिलो र मितव्ययी बनाउने, मतदाता शिक्षालाई प्रभावकारी बनाउन सहयोगी भूमिका निर्वाह गर्ने, उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधि एक अर्काे उम्मेदवार तथा दलको  सहअस्तित्व स्वीकारी आदर सम्मान पूर्वक व्यवहार र स्वस्थ प्रतिस्पर्धा गर्ने, तथा आम नागरिकमा परिवर्तनको अनुभूति हुने गरी समृद्ध झापा गाउँपालिका निर्माणका समग्र विषय सम्बोधन गर्ने तथा घोषित कार्य पूरा गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका हुन् । 

साथै, छलफलमा सहभागी उम्मेदवारले बालमैत्री शासनयुक्त स्थानीय तह निर्माण, अपाङ्गता भएकाहरु, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका समग्र समस्या, आदिवासी–जनजाति, अल्पसंख्यक तथा पछाडि पारिएका समुदायका पहिचान–अस्तित्वका सवाल, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण लगायतका विषयलाई प्राथमिकतासाथ सम्बोधन गर्ने समेत पतिवद्धता व्यक्त गरेका छन् । 

छलफलमा सहभागी अध्यक्ष पदका उम्मेदवार नेकपा एमालेबाट गौरीशंकर राजवंशी, नेपाली कांग्रेसबाट जयनारायण साह, नेकपा माओवादी केन्द्रबाट रुद्र बजगाईं, जनता समाजवादी पार्टीबाट मोहितलाल कामती, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चन्द्रबहादुर कार्की, जनमत पार्टीबाट लोथ्रो हेमरम र स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद गणेशले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै स्वस्थ प्रतिस्पर्धासाथ चुनावी गतिविधि गर्ने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदका उम्मेदवार नेकपा एमालेकी देवीमाया अधिकारी, नेकपा माओवादी केन्द्रकी मुनावती गणेश र नेकपा एकीकृत समाजवादी पार्टीका ईश्वरप्रसाद दाहालले सुशासन र व्यवस्था बलियो बनाउन उम्मेदवार बनेकाले निर्वाचन आचारसंहित उल्लंघनका कुनैपनि घटना आफू र आफ्नो पार्टीबाट नहुने प्रतिवद्धता व्यक्त गरेका छन् ।