धनकुटा ।
महालक्ष्मी नगरपालिका, धनकुटा र महालक्ष्मी नगरपालिका, ललितपुरबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुरस्थित महालक्ष्मी नगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा दुवै नगरका प्रमुखले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, उपप्रमुख मञ्जु अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
त्यस्तै, महालक्ष्मी नगरपालिका ललितपुरको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।
दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यास आदानप्रदान गर्ने लगायत बिषय समझदारी पत्रमा उल्लेख छन् ।