भद्रपुर । 

सरसफाइ तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको क्लिन झापाले झापाको भद्रपुर नगरपालिकामा सरसफाइ सचेतना अभियान सम्पन्न गरेको छ ।

शुक्रबार भद्रपुरको  वडा नं ३ को आदिवासीबहुल हात्तीमारामा सचेतना कार्यक्रम गरिएसँगै भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित अभियान सम्पन्न भएको क्लिन झापाका सचिव एवम् सरसफाइ योद्धा रुद्रबहादुर न्यौपानेले बताए ।

क्लिन झापाकी अध्यक्ष शान्ति उपाध्यायको अध्यक्षतामा वडा नं ३ मा सञ्चालित कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष कमला थुलुङले सरसफाइप्रति सबै सचेत हुनुपर्ने बताइन् । भद्रपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतसमेतको उपस्थिति रहेको ‘दुषित खानेपानी तथा फोहोरजन्य रोगहरु र पूर्ण सरसफाइमा समुदायको भूमिका’ विषयक अन्तरक्रियात्मक सो कार्यक्रममा क्लिन झापाका सचिव न्यौपानेले ‘सरसफाइ र स्वच्छताको अवधारणा’ र ‘पूर्ण सरसफाइ’ तथा अध्यक्ष उपाध्यायले ‘खानेपानी तथा फोहोरमैला व्यवस्थापन’ विषयमा प्रस्तुति दिएकी थिइन् ।

अभियानअन्तर्गत भद्रपुरका विभिन्न वडामा ८ वटा सचेतना कार्यक्रम सम्पन्न गरिएको र यसबाट लगभग चारसय घरपरिवारले सरसफाइ बारे ज्ञान हासिल गरेको सचिव न्यौपानेको भनाइ छ ।