उदयपुर । 

उदयपुरको बेलका नगरपालिका–६ कि १६ बर्षीया कबिता सुनुवारको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सिक्किम बियुङ घर भई  उदयपुर बेलका नगरपालिका –३ का जितबहादुर ढकालको घरमा बस्दै आएका १९ बर्षीय बिनोद ढकाल र  १७ बर्षीया बालिका रहेकी छन् ।

चैत्र २२ गते बिहान बेलका नगरपालिका–३ स्थित यशोदा खोला किनारमा काठको गोलिया नजिक बालिकाको लाश फेला परेको थियो ।  इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको प्रहरी निरीक्षक सहितको टोलीले बेलका नगरपालिका–६ का कृष्ण सुनुवारको १६ बर्षीया छोरी कबिता सुनुवार भएको सनाखत भएसंगै हत्याको आरोपमा बिनोद ढकाल र १७ बर्षीया बालिकालाई पक्राउ गरेको हो ।  

अनुसन्धानको क्रममा कबिता सुनुवार र १७ बर्षीया आरोपित बालिका कोशी जनता माध्यमिक बिद्यालय रामपुर उदयपुरमा कक्षा १० मा अध्यनरत रहेको र सुनुवारले सानो सानो कुरामा आरोपित बालिकालाई होच्याउने, चिड्याउने गरी आघात पुर्‍याउने गरेको हुँदा रिसिईवी राखि मार्ने योजना बनाएकोमा चैत्र २२ गते मंगलवार बिहान ४  बजेको समयमा एसइइ तयारी कक्षाको लागि तिनैजनासँगै बिद्यालयतर्फ जादै गर्दा बाटोमा उनकै दाजु नाता पर्ने बिनोद ढकालले लुकाई बोकेको बियरको बोतलले सुनुवारको टाउकोमा प्रहार गरी घाईते बनाएको र ढुङगाले समेत प्रहार गरी कर्तव्य गरी मारेर मृतक लाशलाई घिसार्दै यशोदा खोला किनार छेउमा रहेको काठको गोलिया नजिक लाश फालेको खुल्न आएको हो ।

घटनामा आरोपित १७ बर्षीया बालिका र  बिनोद ढकाल समेतलाई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।