बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाकी उपमेयर पबित्रा महतरा प्रसाईले महिला भएकै कारण उजुरी लिएर आउने सेवाग्राहीले उजुरी तथा गुनासो लिएर मेयर समक्ष जाने गरेको बताएकी छिन् ।
संविधानले पालिकाका उपप्रमुख तथा उपाध्यक्षलाई न्यायिक समिति, राजश्व परामर्श समिति, अनुगमन समितिलगायतका प्रमुखको जिम्मेवारी दिएपनि सेवाग्राहीले महिला भएकै कारण नपत्याउने अवस्था देखिएको गुनासो गरेकी छिन् । बिर्तामोड नगरपालिकामा सोमबार आफुले संयोजन गरेको कार्यप्रगती सार्वजनिक गर्न गरिएको पत्रकार भेटघाटमा उनले त्यस्तो बताएकी हुन् ।
योजना निर्माण, बजेट प्रस्तुत लगायत उपप्रमुखले गर्ने भएपनि ठेक्का सम्झौता भएको उपप्रमुखलाई जानकारी नै नदिइने गरेको प्रसाईंले जानकारी दिइन् । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको बिषय क्षेत्र न्यायिक कार्य सम्पादनमा ७ पूर्णाङ्कमा बिर्तामोडको न्यायिक समितिले ७ अंक नै प्राप्त गरेको उपप्रमुख प्रसाईंले बताइन्
उनले समितिले आव २०७५÷०७६ देखि हालसम्म परेका उजुरीको जानकारी दिएकी थिइन् । उनका अनुसार ३ सय ४७ उजुरी मध्ये ३ सय २९ वटा किनारा लगाएको बताइन् । न्यायिक समितिमा परेका लेनदेन र अन्य मुद्धामा २ करोड ६५ लाख रुपैँया रकम समितिको छलफल बाट मेलमिलाप गराई पक्षहरुले लेनदेन गराउन समिति सफल भएको प्रसाईंले बताएकी छिन् ।
उनले केही अधुरा कार्य पूरा गर्न बाँकी रहेको बताउँदै पार्टीले टिकट दिए मेयरको इच्छा ब्यक्त गरेकी छिन् ।


















