अर्जुनधारा । 

अर्जुनधारा नगरपालिका वडा नं. ४ स्थित भाङबारी भएर बग्ने विरिङ र टाङटिङ खोलाको विचमा बिन्ध्यवासिनी सिंहदेवी मन्दिर स्थापित छ । जरुवा सिमसार क्षेत्रमा रहेको बिन्ध्यवासिनी सिंहदेवी मन्दिरलाई प्रचारप्रसारमा ल्याउन सके त्यहाँ धार्मिक तथा जलाशय पर्यटकीय क्षेत्र बन्नेमा दुईमत छैन । विकासको हिसावले केही पछि परेको उक्त स्थानमा ३० विगाहा जग्गा सिमसार क्षेत्र रहेको छ । 

विभिन्न प्रजातीका चराचुरुङ्गी पाइने उक्त वडामा एकहजार ५ सय घरधुरीको बसोवास रहेको छ ।  वडाको विकास र मन्दिरको स्तरोउन्नतीका लागि रामनवमीको अवसर पारेर आगामी चैत्र १९ गतेदेखि नवाह यज्ञ सप्तसती चण्डी पाठ महायज्ञको आयोजना हुने भएको छ । 

मन्दिर ब्यवस्थापन समितिले बुधवार पत्रकार भेटघाटको आयोजना गर्दै महायज्ञ र उक्त स्थानको विषयमा जानकारी दिएको हो । महायज्ञ सम्पन्न गर्न मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मनोज जोशीको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ । 

महायज्ञ सम्पन्न गर्न प्रचारप्रसार उप समिति, आर्थिक ब्यवस्थापन उपसमिति, खाद्य ब्यवस्थापन उपसमिति, सुरक्षा तथा स्वयम सेवक उपसमिति, स्वागत उपसमितिहरु निर्माण गरिसकेको अध्यक्ष जोशीले जानकारी दिए । 

महायज्ञका माध्यमबाट उक्त स्थानको विकासका लागि प्रचारप्रसार गर्ने र धार्मिक तथा सिमसार पर्यटकीय क्षेत्रको अवधारणा अघि ल्याउने उदेश्य रहेको अध्यक्ष जोशीले बताए । 

अनुमानित ७ लाख रुपैयाँ खर्च हुने महायज्ञका लागि स्थानीयस्तरबाटै रकम जुटाइने र ५० लाख आम्दानी गर्ने लक्ष्य रहेको अध्यक्ष जोशीले बताए । अध्यक्षका अनुसार आगामी दिनमा राधाकृष्ण मन्दिर निर्माण, कार्यालय भवन निर्माण, आधुनिक तरिकाको गुरुकुललगायतका योजनाहरु रहेको छ । उनले अर्जुनधारा जलेश्वरधामसँगै उक्त धार्मिक तथा पर्यटकीय स्थललाई जोड्ने आगामी योजना रहेको समेत बताएका छन् । कार्यक्रममा वडाका राजनीतिकदल, सामाजिक ब्यक्तित्वलगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन मन्दिर ब्यवस्थापन समितिका सचिब प्रेमबहादुर कार्कीले गरेका थिए ।