बिर्तामोड ।
आसन्न स्थानीय तह निर्वाचनमा महिलाको सवाल विषयक दुईदिने खोजमूलक पत्रकारिता तालिम झापाको विर्तामोडमा आजदेखि शुरु भएको छ ।
झापा महिला पत्रकारहरुको छाता संगठन नारी सञ्चार गृह झापाको आयोजना तथा प्रदेश पूर्वाधार क्षेत्र विकास कार्यक्रमको सहयोगमा सञ्चालित तालिमको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले गरेका हुन् ।
तालिममा २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा महिलाको प्रतिनिधित्व, सातै प्रदेशका पालिकाहरुमा (निर्णायक ठाउँ) मा महिलाको सहभागिता, निर्वाचन परिणाममा देखिएका केही सवालहरु, तथ्याङ्कमा अब हुने निर्वाचनका विषयमा छलफल भएको थियो । त्यस्तै महिलाहरुलाई अघि बढ्नका लागि सञ्चारको भूमिकाका विषयमा समूहगत रुपमा धारणा सार्वजनिक गर्दै उक्त विषयमाथि छलफल भएको निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, संस्थापक अध्यक्ष सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमा रेजिना गौतमले प्रकाश पारेकी थिइन् ।