झापा ।
बहुबिवाह मुद्दामा फरार रहेका महिला र पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हल्दीबारी गाउँपालिका वडा नं. ३ घर भई दमक–४ मा बस्दै आएका ३२ बर्षिय सन्तोष नेपाली र २५ बर्षिया गंगामाया नेपाली रहेका छन् ।
झापा जिल्ला अदालतको फैसला बमोजिम बहु–बिबाह मुद्दा शिर्षकमा फरार रहेका उनीहरुको फैसला कार्यन्वयनको लागी खटेको जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउपछि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराएर कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भएपछि हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीले जनाएको छ । सन्तोषलाई दुई बर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना र गंगामायालाई एकबर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।