शान्तिनगर ।
पवित्रा–भेषराज खतिवडा स्मृति प्रतिष्ठान शान्तिनगरले विगतका वर्षहरुमा झैं यो वर्ष पनि पुरस्कृत प्रतिभाको छनौट गरेको छ ।शिक्षा तथा पत्रकारिता क्षेत्रलाई प्राथमिकतामा राखेर प्रत्येक वर्ष पुरस्कार वितरण गर्दै आएको प्रतिष्ठानले २०७८ सालका लागि पुरस्कृत प्रतिभा टुङ्गो लगाएको हो । प्रतिभा छनौटसँगै आगामी चैत १९ गते शनिबारका दिन बुद्धशान्ति–५ चिया बगान कार्यक्रमको आयोजना गरी पुरस्कार समर्पण गरिने अध्यक्ष छविलालले बताए ।
प्रतिष्ठानको उत्कृष्टता छनौट मापदण्ड अनुसार यो वर्ष झापाको भद्रपुरस्थित पुहाँतु जनज्योति मावि दुवागढी उत्कष्टमा परेको प्रतिष्ठानका सचिव छविलाल खतिवडाले जानकारी दिए ।
प्रतिष्ठानले उत्कृष्ठ मापनका लागि एसइइ नतिजा, विद्यालयको सरसफाई, अनुशासन, पढाई तथा बार्षिक रुपमा शैक्षिक उपलब्धी लगायतका मापदण्ड तोकेको बताइएको छ । सोही मापदण्डका आधारमा छनौट समितिले उत्कृष्टताको निर्णय गर्छ । प्रतिष्ठानले सामुदायिक विद्यालय स्तरीय ‘पवित्रा–भेषराज खतिवडा स्मृति पुरष्कार’ बाट उत्कृष्ठ हुने विद्यालयलाई नगद ५१ हजार राशीको पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यसैगरी ‘भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार’ २०७८ बाट पत्रकार इन्दु पूर्वेलीलाई प्रदान गर्ने भएको छ । अग्रज पत्रकार चन्द्र भण्डारीको संयोजकत्वमा गठित पत्रकारिता पुरस्कार छनौट समितिले यस वर्षको ‘भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार पूर्वेलीलाई प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठान स्रोतले जनाएको छ । पूर्वेलीलाई नगद २५ हजार राशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।
त्यसैगरी सामुदायिक विद्यालयमा पढाई हुने अनिवार्य विषयमध्ये अध्यापनमा उत्कृष्टता हासिल गर्ने शान्ति आदर्श माविमा अध्यापनरत नेपाली विषयकी शिक्षिका दिलु अधिकारी पुरस्कृत हुने भएकी छिन् ।
त्यस्तै समुदाय, विद्यालय र शिक्षकबीच समन्वयकारी भूमिका निर्वाह गर्ने उत्कृष्ठ शिक्षकमध्येबाट मेचीनगरस्थित आदर्श मावि ईंटाभट्टाकी शिक्षक प्रतिमा चापागाँई छनौट भएकी छिन्।
त्यसैगरी प्रतिष्ठानले बुद्धशान्ति, मेचीनगरपालिका र रोङ गाउँपालिकाका सामुदायिक विद्यालयका एसइइ उत्कृष्ठ विद्यार्थीहरु मध्ये यो वर्ष गढीगाउँ मावि शान्तिनगर र धुलावारी माविका ५ जना विद्यार्थी पुरस्कारका लागि छनौट भएका छन् ।
यसैगरी पवित्रा–भेषराजले उर्जाशील जीवन विताएको शान्ति नगरलाई विशेष प्राथमिकतामा राखेर सो क्षेत्रमा बसोबास गर्ने लोपोन्मुख लाप्चा समुदायका दुई विद्यार्थीलाई प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ । सोही निरन्तरता अनुसार यो वर्ष शान्ति आदर्श माविमा अध्ययनरत सुमन लाप्चा र निरमाया लाप्चा छनौटमा परेको प्रतिष्ठानका अध्यक्ष छविलाल खतिवडाले जानकारी दिए ।
दिवंगत पितृको स्मृतिमा स्थापित पवित्रा–भेषराज खतिवडा प्रतिष्ठानले खतिवडा परिवारका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने परम्परा अनुसार यो वर्ष शालिग्राम खतिवडालाई सम्मान गरिने भएको छ ।