लक्ष्मीपुर ।
कर्तब्य फाउण्डेशन बिर्तामोड झापाद्धारा सञ्चालित ‘हाम्रो पनि सुन्दर घर होस् अभियान’ले शारिरिक अपाङ्गता भएको परिवारको पहिलो घर निर्माण गरी हस्तान्तरण गरेको छ ।
अभियानले झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ स्थित नमूना वस्तीका बृद्धबृद्धा तथा अपाङ्गता भएका धर्मराज गिरी र राजकुमारी गिरीको घर निर्माण गरी आइतबार दम्पतीलाई घरको चावी हस्तान्तरण गरेको हो । गिरी दम्पतीको घर निर्माण बिर्तामोडका सामाजिक अभियन्ता मोहन पोखरेल र टीका पोखरेलले अभियान अन्तरगत गरिदिएका हुन् । उक्त घरको चावी घर निर्माण गर्ने परिवारका तर्फबाट रणमाया पोखरेलले हस्तान्तरण गरेकी थिइन् । धर्मराज कान सुन्दैन भने राजकुमारी शारिरिक अपाङ्गतासँगै आँखा देख्दिनन् । गिरी दम्पतिको घर ५ लाख रुपैयाँमा पोखरेल दम्पतीले निर्माण गरिदिएका हुन् ।
‘हाम्रो पनि सुन्दर घर होस् अभियान’ अन्तरगत एक सक्षम र इच्छुक ब्यक्ति वा संस्था तथा प्रतिष्ठानले घर नहुने एक परिवारको घर निर्माण गरिने अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । संयोजक गिरीका अनुसार घर निर्माणका लागि अभियानले अति विपन्न अपाङ्गता भएका, बृद्धबृद्धा, एकल अल्पसंख्यक, सीमान्तकृत समुदायका परिवार छनौट गर्नेछ ।
अभियानले छनौट गरेको ब्यक्तिको घर निर्माण दाता तथा अभियानकर्मीले आफ्नै प्रत्यक्ष निगरानी र स्रोत परिचालन गरेर गर्ने जनाइएको छ । फाउण्डेशनले घर निर्माणका लागि कोहीबाट पनि नगद संकलन नगर्ने संयोजक गिरीले बताए ।
सामाजिक र मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको फाउण्डेशनले दाता र सम्बन्धित ब्यक्तिलाई जोडर संयोजनकारी भूमिका निर्वाह गर्ने संयोजक गिरीले जानकारी दिए । इच्छुक दाताले आफ्नो कमाईको केही अंशबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्न जोड्ने कार्य अभियानले गरेको छ । अभियानले एकसय घर निर्माण गर्ने जनाइएको छ । कार्यक्रममा घर निर्माण गरिदिने पोखरेल परिवारलाई अभियानले सम्मान समेत गरेको थियो ।
अर्जुनधारा ५ का वडाअध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख(डिएसपी) सन्तोष आचार्य, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायत सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो । सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाले स्वातिक बाचन गरेको कार्यक्रमलाई सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।