झापा ।
नेपालको पुर्वी क्षेत्र भोजपुर जिल्लामा पनि हाल चिया खेती मौलाउदै गएको छ । बिगत १० बर्षदेखि चिया खेतीबाट भविश्य उज्यालो बनाउने उदेश्यका साथ लागेका चिया किसान शहरमान गिरीले आफ्नो ८० रोपनी जग्गामा चिया खेती गर्दै आएका छन् । चिया किसान गिरी विगत ५ बर्षदेखि चियाको पत्ता टिपेर प्रशोधन र उत्पादनलाई आफै प्याकेजिङ गरेर नेपाली तथा विदेशी बजारमा पुर्याउन सफल भएका छन् ।
भोजपुरमा पहिलोपटक चिया उत्पादन तथा प्रशोधन गर्ने मेशिन सञ्चालनमा ल्याउन समेत गिरी सफल भएको बताउछन् । उनले उक्त स्थानमा पहिलो र एकमात्र चिया फ्याक्टरी सञ्चालनमा ल्याएको बताए । उनले चिया खेती सञ्चालनमा ल्याउदा भोजपुरमा यातायात नभएका कारण चियाको वीउ खच्चडलाई बोकाएर ल्याएको सुनाए ।
विगत सम्झदै गिरीले भने ‘मैले चिया खेतीको शुरुआत गर्दा धेरै कष्ट भयो, अव अरु किसानले त्यो सास्ती भोग्नु नपरोस ।’ उनले विदेशीने युवा शक्तिलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचका साथ चिया खेती शुरु गरेको बताए ।
किसानहरुलाई सहजिकरण गराउँदै उनीहरुको जीवनयापनमा केही सहज गर्ने साथै बिदेश जाने युवालाई पनि केही हदसम्म रोजगारी दिएर चियासँग सम्बन्धित तालिम निःशुल्क दिदै आएको बताउँदै चियाका बिरुवा शुलभ मूल्यमा उपलब्ध गराउदै आएको जानकारी दिए ।
स्वदेशमै रहेर केही गर्ने सोच र अन्य विदेशीने युवालाई पनि रोजगारी सिर्जना गर्ने सोचका साथ अहिले सिजनमा १५÷२० जनालाई रोजगारी दिएको गिरीको भनाई छ । घर परिवारसँगै बसेर आफ्नै देशमा रोजगारी सिर्जना गर्न सके पारिवारिक वातावरण सृढृद्ध हुने उनको बुझाई छ ।
चियाको बिउदेखि शुरु भएको उनको यात्रा आज उत्पादनसम्म आइपुगेको छ । स्थानीय निकाय र जिल्लाले अझैपनि कृषिलाई ओजेलमा राखेको उनी गुनासो गर्छन् ।
‘प्रदेश सरकारसम्म आफ्नो मेहनतको कदर भएको तर स्थानीय निकायको आँखाकै आगाडि ओजेलमा परेको छ’ गिरीले भने ‘ आगामी दिनमा स्थानीय निकायले साथ र सहयोग गरे भोजपुर जिल्लामा चिया खेतीमा नयाँ आयाम थपिन्छ ।’ उनले किसानलाई आर्थिक आर्जन गर्न धेरै ठुलो सहयोग पुराउने गरेको भएपनि स्थानीय तह र जिल्लाले सहयोग नगरेकोमा दुःख ब्यक्त गरे । चिया खेतीमा सवैको सहयोग भए स्वदेशमा नै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता उनले ब्यक्त गरे ।
कृषिमा लागि परेका कृषकहरुको मनोबल उच्च बनाउन र सहि तरिकाबाट काम गर्ने कृषकहरुलाई थप सहयोग तथा प्रोत्साहन गर्नु पर्नेमा उनको जोड छ ।