झापा ।
रंगहरुको पर्व होली फागु पर्व आज (शुक्रवार) तराईमा मनाइँदै छ। पहाडी क्षेत्रमा अघिल्लो दिन मनाईने पर्व होली तराईमा भोलिपल्ट मनाउने गरिन्छ । पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि होली पर्व सम्पन्न भएको थियो।
तराईका जिल्लामा आज रंग अवीर दलेर, शुभकामना साटासाट गर्दै, विभिन्न गीत गाउँदै होली पर्व मनाउने गरिन्छ। असत्यमाथि सत्यको विजयको हार्षोल्लासका रूपमा होली मनाइन्छ। होलीसम्बन्धी अर्को किंवदन्ती पनि पाइन्छ। हिरण्यकस्यपुले विष्णुभक्त छोरा प्रह्लादलाई भष्म गर्ने उद्देश्यले अग्निमा नजल्ने वरदान पाएकी होलिकासँग अग्निमा राखेपछि होलिका स्वयं भष्म भएको तर प्रह्लाद सकुशल रहेको किंवदन्तीअनुसार पनि होली पर्व मनाउने गरिन्छ।
फगुवा खेल्ने अर्थात् फागु पूर्णिमामा तराई मधेसमा बेग्लै रौनक हुन्छ। एउटै उमेर समूहका युवायुवती जम्मा भएर हर्षोल्लास पूर्ण रूपमा होली मनाउँछन्। यो पर्वले जाडो सकिएको र गर्मी नबढिसकेको अवस्था भएकाले पनि रमाइलो मौसम छ । हिउँदे बाली खेतमा तयार हुँदै र बर्खे थन्क्याइसकिएको छ।
होली पर्वका अवसरमा विभिन्न रंग दल्ने परम्परा रहे पनि पछिल्लो समय विभिन्न खालका इनामेल, पेन्टहरुले अनुहार, कपाल र शरीर रंगाउने गरिएको छ। त्यस्ता, इनामेल पेन्टहरु स्वास्थ्यका लागि हानिकारक हुने भएकाले सचेत भई रंग खेल्न चिकित्सकले आग्रह गरेका छन्।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले होलीको समयमा ट्राफिक नियम उल्लंघन गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । नेपालीहरुको उल्लास र हर्षको पर्वको रुपमा रहेको होली पर्व बिहीबार झापासहित तराईका जिल्लामा धुमधामका साथ मनाइँदैछ ।