बिराटनगर । 

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । सर्वोकृष्ठ प्रहरी  घोषित हुनेमा इलाका प्रहरी कार्यालय धरान सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर रहेका छन् ।

उनले विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएकाले सर्वोकृष्ट प्रहरी घोषित भएका हुन् ।

उनले धरान ४ स्थित कोशी राजमार्ग जंगलमा पुरूष मानिसको टाउको, जिउ र खुट्टाको भाग छुट्टिएको र सडीगली रहेको अवस्थामा फेला परेको घटनाको उत्कृष्ट अनुसन्धान गरी मृतकको पहिचान खुलाउन सफल भई उक्त घटनामा संलग्न ब्यक्तिलाई पक्राउ तथा अन्य विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको जनाइएको छ । 

 १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा प्रदेश प्रहरी अन्तरगत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।