बिराटनगर ।
सुनसरी जिल्लाको दक्षिणी भेगमा रहेको नेपाल भारत सिमा स्तम्भहरुको सुरक्षा निकायका प्रमुखले निरीक्षण तथा अवलोकन गरेका छन् । प्रदेश प्रहरी प्रमुख अरुणकुमार बि.सी, सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादब, सुनसरी जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक संजयसिंह थापा, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान सुनसरीका प्रमुख समेतको टोलीले सुनसरीको स्तम्भको निरिक्षण तथा अवलोकन गरेका हुन् ।
उनीहरुले देवानगंज, साहेवगंज, कप्तानगंज क्षेत्रमाअवस्थित नेपाल भारत सिमामा रहेको सिमा स्तम्भहरुको निरीक्षण अवलोकन गरेका हुन् । सिमा स्तम्भहरुको निरीक्षण अवलोकनकै क्रममा सुरक्षा निकायका प्रमुखहरुले स्थानियबासीसँग भेटघाट तथा अन्तरक्रिया समेत गरेका थिए ।
यसैगरी सीमा क्षेत्र अवलोकन एवम् निरीक्षणको क्रममा प्रदेश प्रहरी प्रमुख बिसीले सीमा क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय देवानगंज, सिमा प्रहरी चौकी साहेवगंज, प्रहरी चौकी कप्तानगंज, अस्थायी प्रहरी चौकी मोतिटप्पु सुनसरीको समेत निरीरक्षण गर्नुका साथै कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिदै सीमा क्षेत्रमा हुने बिविध गतिविधिका बारेमा विस्तृत जानकारी लिएका थिए ।