उदयपुर । 

जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । सोमबार त्रियुगा नगरपालिका–१० बोक्सेमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्षको प्रहरी महानिरीक्षक थापा क्षेत्रीले गरेका हुन् । 

 कार्यक्रममा प्रमुख अतिथि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले  भवन निर्माण कार्यमा उल्लेखनिय योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसा पत्रले सम्मानगरेका थिए । 

कार्यक्रममा १ नम्बर प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसीले सुबिधा सम्पन्न भवन प्राप्त भए संगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताएका छन् । 

नेपाल सरकारको नियमित बजेटबाट जिल्ला प्रहरी कार्यालय उदयपुरको हाता भित्र नवनिर्मित कार्यालय भवन, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको आवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्सा घर तथा नागरिक सहायता कक्ष गरी कुल ९ करोड ४९ लाख ९६ हजार ६६८ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।