विर्तामोड ।
कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि केही समयअघि स्थगित भएको महायक्ष चैत्र ११ देखि १७ गतेसम्म आयोजना हुने भएको छ । झापाको बिर्तामोड नगरपालिका वडा नं. १ का हरिप्रसाद कडरिया तथा परिवारले गत माघ ११ देखि १७ गतेसम्म आयोजना गर्ने भनिएको महायज्ञ कोरोना भाइरसका कारण स्थगित भएको थियो । कोरोना भाइरस संक्रमणदर वढ्दै गएपछि स्वास्थ्यलाई ख्याल राखेर महायज्ञ स्थगित गरेका थिए ।
श्री तारतम महामन्त्र अवतरण भएको ४०० बर्षको अवसर तथा नयाँ घर प्रवेशको अवसर पारेर हरिप्रसाद कडरिया, गंगादेवी कडरिया, यशोदा कडरिया तथा कडरिया परिवारले श्रीमत्तारतम सागर (ब्रह्मवाणी) को १०८ पारायण, ब्रह्मवाणी चर्चा, श्रीमद् भागवत कृष्ण कथा महायज्ञको आयोजना गर्न लागेको बताइएको छ ।
आयोजक हरिप्रसाद कडरिया तथा परिवारले सोमवार बिर्तामोड–१ स्थित न्यू कन्चनजंघा टोलस्थित निवासमा युवा भेला तथा पत्रकार भेटघाटको आयोजना गरी महायज्ञका वारेमा जानकारी दिएका हुन् ।
कडरियाले आफ्नै घरमा आयोजना गर्न लागेको श्रीमत्तारतम सागर १०८ पारायण श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा गरिसकेको बताएका छन् । महायज्ञ ब्यक्तिरुपमा आयोजना गरिने भएपनि त्यहाँबाट संकलन हुने रकम, अन्य सामाग्री तथा दान मठमन्दिरलाई प्रदान गर्ने बताए । कडरियाले महायज्ञका बिषयमा हुँदै नभएको भ्रम फैलाएको बताउँदै भ्रममा नपर्नसमेत सवैलाई आग्रह गरेका छन् ।
११२ जना पंण्डितले बाचन गर्ने महायज्ञमा प्रमुख बाचक महन्तश्री १०८ लक्ष्ममणदेवजी महाराज र श्री मद्भागवत कथा व्यास श्री प्रमोद सुधारकरजी महाराज रहने जानकारी दिइएको छ । महायज्ञ अवधिभर दैनिक ५ हजार भक्तजनहरुको उपस्थिति रहने समेत आयोजकले लक्ष्य राखेको छ ।
श्रीकृष्ण प्रणामी युवा परिषद झापा अध्यक्ष टहलदास ओलीको अध्यक्ष्यतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय उपाध्यक्ष टंकको ओझाको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद प्रदेश नं. १ का अध्यक्ष अनिल ढुङ्गाना, बाइजुराज महिला समिति झापा अध्यक्ष मिरा ओली, मुक्तिधाम इटहरीका १०८ कृष्णदासजी महाराज, भक्तिभुषण महाराज भुपेन्द्र शास्त्रीलगायतको उपस्थित रहेको थियो ।
श्रीकृष्ण प्रणामी युवा परिषद झापा उपाध्यक्ष समपर्ण खतिवडाले गरेको कार्यक्रमलाई सञ्चालन श्रीकृष्ण प्रणामी युवा परिषद बिर्तामोडका अध्यक्ष दिनेश बजगाईले गरेका थिए ।