सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नं. –९ स्थित घैलाडुवामा कवर्ड हल संचालनमा आएको छ । कनकाई नगरकै पहिलो कवर्ड हल सञ्चालनमा आएसँगै सबै उमेर समूहका स्थानीयबासीले भरपुर मनोरञ्जन लिने विश्वास गरिएको छ ।
प्रदेश सभा सदस्य एकराज कार्की तथा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले संयुक्त रुपमा कवर्ड हलको उद्घाटन गरेका छन् । कवर्ड हल ५० लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।
कवर्ड हल निर्माणका लागि प्रदेशसभा सदस्य एकराज कार्की मार्फत सांसद विकास कोषबाट १२ लाख साथै कनकाई नगरपालिकाबाट ३८ लाख ५० हजार बजेट व्यवस्थापन भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द उप्रेतीले जानकारी दिए ।
जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै हरेक ग्रामिण क्षेत्रहरु दिनप्रतिदिन शहरीकरण हुँने क्रममा अघि बढेको भन्दै प्रदेशसभा सदस्य कार्कीले सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियानमा कनकाई नगर प्रमुखको भूमिकाप्रति खुशी व्यक्त गरेका छन् ।
निर्माण उपभोक्ता समितिका अध्यक्ष गोविन्द उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले कनकाई नगर क्षेत्रलाई समृद्धिको यात्रामा अघि बढाउँन सबै किसिमका उपाय गरिरहेको बताएका छन् । स्वस्थ शरिरबाट सकारात्मक साथै रचनात्मक उर्जा प्राप्त हुने भएकाले घैलाडुवा साथै आसपासका स्थानीयवासीको भावनालाई सम्बोधन गर्दै खेल क्षेत्रलाई मध्यनजर गरी कबर्ड हल सञ्चालनमा ल्याइएको नगर प्रमुख पोखरेल बताए ।
निर्माण उपभोक्ता समितिका सदस्य किरण चुडालले स्वागत गरेको कार्यक्रमलाई सचिव धर्मानन्द निरौलाले सञ्चालन गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य जसमाया गजमेर, कनकाई ९ का वडाअध्यक्ष प्रेमप्रसाद राजवंशी लगायतको उपस्थिती रहेको थियो ।