- उद्धव पुरी
झापा ।
लगातार बढेको पोट्रोलियम पदार्थको मूल्य अनुरुप ट्रक ढुवानी भाडा समायोजन हुनु पर्ने माग राख्दै ट्रक ढुवानी ब्यवसायीहरुको भेलाले आज(शनिवार) देखि ढुवानी सेवाका सवै गतिविधि नगर्ने भएका छन् ।
पूर्व नेपाल मेची ट्रक व्यवसायी संघका पदाधिकारीसहित शनिवार बिर्तामोडमा भएको व्यापक छलफलले विभिन्न ६ वटा निर्णय गर्दै आगामी चैत ६ गतेसम्म ट्रान्सपोर्ट तथा ट्रक ब्यवसायीले लोडिङ तथा अनलोडिङ सम्बन्धित कुनैपनि गतिविधि नगर्ने भएका हुन् ।
बैठकले सरकारले निधारण गरेको भाडादर कायम गर्ने÷गराउने विषयमा ट्रक ढुवानी ब्यवसायी र ट्रान्सपोर्ट कम्पनी जिम्मेवार रुपमा प्रस्तुत हुने, शनिवारदेखि ट्रान्सपोर्ट तथा ट्रक ब्यवसायीले लोडिङ तथा अनलोडिङ सम्बन्धित कुनैपनि गतिविधि नगर्ने, आज (शनिवार) गते पठाइएका तरकारीको गाडीलाई सवारी नम्बरसहित उल्लेख गरी आइतबारसम्ममा पठाइसक्नु पर्ने छन् ।
त्यस्तै अनुगमन समिति निर्माण गरी बुँदा नम्बर ३ मा उल्लेख भए अनुसार भए नभएको अनुगमन गर्ने, उक्त निर्णयहरु स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यममा जानकारी गराउनेलगायत निर्णय भएको ब्यवसायी सुभास कार्कीले जानकारी दिए ।
छलफलमा पूर्व नेपाल मेची ट्रक व्यवसायी संघका अध्यक्ष प्रेमकुमार बोहोरा, उपाध्यक्ष बेनु सुवेदी, महासचिव देवेन्द्र केसी, सचिव गोपाल अधिकारी, सह–सचिव प्रभातभुषण दाहाल, सदस्य बुद्ध तामाङ, मेची ट्रान्सपोर्ट एशोसिएशनका कोषाध्यक्ष हेमरत प्रसाईसहित ७३ जना व्यवसायीहरुको छलफलले उक्त निर्णय गरेको जनाइएको छ ।
ट्रक ब्यवसायीहरुले भारतीय मालबाहक सवारीको सामान नेपाली भञ्सारमा पल्टी गरी नेपाली सवारी साधन मार्फत ढुवानी गर्नुपर्ने, नेपालको बोर्डरदेखि नेपालतर्फ १७ किलोमिटरसम्म मात्र भारतीय सवारीलाई प्रवेश दिनु पर्ने लगायतका मागगर्दै आएका छन् । ढुवानी सेवामा भाडा समायोजन नभएको भन्दै झापाका ट्रक ढुवानी ब्यवसायी केहीदिन देखि आन्दोलित हुँदै आएका छन् ।
फाइल तस्वीर