बिर्तामोड ।
बिर्तामोड नगरपालिका वडा नम्बर ८ नम्बर वडाका एक सय ५० जना वृद्ध भ्रमणका लागि हिडेका छन् । नगर प्रमुख ध्रुब कुमार शिवाकोटी र वडाध्यक्ष अजय कार्की (जङ्गे) ले शुक्रवार (आज) उनीहरुलाई बिदाई गरेका हुन् ।
झापा मोरङ हुँदै देवघाट शाश्वतधाम लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गराइने अध्यक्ष कार्कीले बताए । नगर प्रमुख शिवाकोटीले जेष्ठ नागरिक आफैमा तिर्थ भएकाले उनीहरुलाई सम्मान गर्ने बताए ।
पहिलो पटक वडाको नेतृत्वमा जेष्ठ नागरिकलाई तिर्थयात्रा गराएको भन्दै उनले जेष्ठ नागरिक चौतारी निर्माण लगभग प्रत्येक वडामा निर्माण गरिएको बताए । ३ दिन सम्मको यात्राका लागि वडाले ११ सदस्यीय समिति गठन गरेर सबैको समन्वय गरिएको कार्कीले जानकारी दिए ।
भ्रमणमा सहभागी जेष्ठ नागरिकले स्थानीय सरकारले घुमाउन लगेकोमा खुशी व्यक्त गरे।