ताप्लेजुङ । 

ताप्लेजुङको फुङलिङ नगरपालिका–४ कोप्चेमा आज(शुक्रवार) बिहान  भएको आगलागीमा  स्थानीय ६७ बर्षीया बृद्धा चुलिमाया लिम्बुको मृत्यु भएको छ ।

बिहान साँढे ८ बजेको समयमा स्थानीय संगिता मादेनको घरबाट अचानक आगलागी शुरु भई छिमेकी रविन आङबोहाङको घरमा समेत आगलागी हुँदा सोही घरमा डेरा बस्ने चुलिमायाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । 

आगलागीबाट संगिता मादेनको २ तले कच्ची घर जलेर नष्ट भएको र आङबोहाङको घर आंशिक रुपमा जलेर क्षति भएको छ ।आगलागी स्थानीयवासी, सुरक्षाकर्मी तथा दमकलको सहयोगमा बिहान साँढे ९ बजे नियन्त्रणमा आएको थियो । घटनाका बिषयमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।