• उद्धव पुरी 

झापा । 

पेट्रोलियम पदार्थको निरन्तर रुपमा मूल्य बृद्धि भइरहको तर, ट्रक ढुवानी भाडाबृद्धि नभएको भन्दै झापाका ट्रक ढुवानी ब्यवसायीहरु आन्दोलित भएका छन् । 

ट्रक ढुवानीमा झापाका तीनसय वढी ब्यवसायीहरु आवद्ध रहेको बताउँदै ढुवानी भाडा नबढे अनिश्चितकालिन ढुवानी सेवा बन्द गर्ने ट्रक ढुवानी ब्यवसायीहरुले बताएका हुन् । 

मेची ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष तथा ढुवानी ब्यवसायीसमेत रहेका मोहन ढकालले ब्यवसायीहरुको बैंकको ऋण व्याज, स्टाफ, ड्राइभर, टायर, इन्जिन खर्च धान्न नसक्ने अवस्थामा रहेको बताए । ‘झापा वा पूर्व मात्र सेवा बन्द गरेर हुँदैन’ ढकालले भने ‘ब्यवसायी चल्न नसकन्ने अवस्था आएकाले देश ब्यापी सेवा बन्द गर्नुपर्छ ।’

उनले सम्बन्धित मन्त्रालयमा बिहीबार (आजै) ज्ञापनपत्र बुझाईसकेको र आगामी चैत ६ गतेसम्म समय मागे भएको बताउँदै उक्त समयलाई मध्यनजर गर्दै अघि बढ्ने बताए । 

‘देशमा लगातार पेट्रोलियम पदार्थको मूल्य बृद्धि भइरहेको छ’ मेचीनगर–१५ का ट्रक ढुवानी ब्यवसायी तेजप्रसाद लामिछाने भने ‘विगत १० बर्षदेखि ढुवानी भाडाबृद्धि नहुनुले हाल ट्रक ब्यवसायीहरु मारमा परेका छन् ।’ उनले सरकारले अव पनि ढुवानी भाडाबृद्धि नगरे विकल्पका रुपमा व्यवसायी सडकमा निस्कन बाध्य हुने बताए । 

भाडाको मारले व्यवसायीहरु धराशायी बन्दै गएको बताउँदै उनले पेट्रोलियम पदार्थको मूल्यबृद्धिसँगै सरकारले ट्रक ढुवानी भाडा समायोजन गर्न मागसमेत गरेका छन् । 

ट्रक ब्यवसायीहरुले भारतीय मालबाहक सवारीको सामान नेपाली भञ्सारमा पल्टी गरी नेपाली सवारी साधन मार्फत ढुवानी गर्नुपर्ने, नेपालको बोर्डरदेखि नेपालतर्फ १५ किलोमिटरसम्म मात्र भारतीय सवारीलाई प्रवेश दिनु पर्ने लगायतका माग अघि सारेका छन् । 

कार्यक्तममा पूर्व नेपाल मेची ट्रक व्यवसायी संघका सचिव गोपाल अधिकारी, सहसचिव प्रभातभुषण दाहाल, सदस्य बुद्ध तामाङ, व्यवसायी सुभास कार्की, टेक खरेल, विकास लिम्बु, बिद्या चौधरीलगायतको उपस्थिति रहेको थियो । 

भिडियो पनि