सुरुङ्गा ।

 झापाको कनकाईमा नेपाल हृदय रोग निवारण प्रतिष्ठानले नगर क्षेत्रका ५० जना जेष्ठ नागरिकको मुटु रोगसँग सम्बन्धित स्वास्थ्य परिक्षणका लागि रगत संकलन गरेको छ ।

स्वास्थ्यको पहुँचबाट टाढा रहेका ग्रामिण समुदायका जेष्ठ नागरिकको लिपिड प्रोफाएल परिक्षणकालागि रगत संकलन गरिएको प्रतिष्ठान झापाका अध्यक्ष कुमारमणि पोखरेलले बताएका छन्  । लक्षित समुदायलाई मुटु रोगको उपचारमा सहजिकरण र सहयोग गर्ने उद्येश्यका साथ स्थापना भएको प्रतिष्ठानले झापाका ग्रामिण क्षेत्रमा मुटु रोगसँग सम्बन्धित सचेतना साथै स्वास्थ्य शिविर संचालन गर्ने योजना रहेको प्रतिष्ठानका अध्यक्ष पोखरेलले बताए । 

  प्रतिष्ठानका अध्यक्ष पोखरेलको अध्यक्षता एवम् प्रेस चौतारी नेपाल प्रदेश नं. १ का कार्यसमिति सदस्य पत्रकार रामप्रसाद निरौलाको प्रमुख आतिथ्य रहेको कार्यक्रम कनकाई—७ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको हो । 

  प्रतिष्ठानका उपाध्यक्ष स्वास्थ्य प्राविधिक लक्ष्यन्द्र यादवले संस्थाका तर्फबाट संकलन गरेको रगत प्रतिष्ठानका निवर्तमान अध्यक्ष डाक्टर सि.पी. यादवले परिक्षण गर्ने जनाइएको छ । रगत परिक्षणपछिको रिपोर्टका साथमा डाक्टर यादवले सम्बन्धित जेष्ठ नागरिकहरुसँग समन्वय गर्ने बताइएको छ ।

 नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको आयोजना एवम् जेष्ठ नागरिक संघ कनकाईको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रमका अवसरमा सबै उमेर समूहका मानिसको मुटु सम्बन्धि समस्या साथै यसको रोकथामका बारेमा सचेतना जगाइएको थियो ।

  जेष्ठ नागरिक संघ कनकाईका सचिव शम्भु पोखरेलको स्वागत तथा प्रतिष्ठानका सचिव लुवराज उप्रेतीले संचालन गर्नुभएको कार्यक्रममा प्रतिष्ठानकै सदस्य दिनेश पोखरेलले औचित्यमाथी प्रकाश पार्नुभएको थियो ।