बिर्तामोड ।

 बिर्तामोड नगरपालिका वडा नं. ४ को सहयोग तथा  जनआन्दोलन साप्ताहिकको आयोजनामा भएको प्रस्ताव लेखन सम्बन्धि तालिम सम्पन्न भएको छ ।

इन्दु पूर्वेलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तालिम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि संग्रौला, अतिथि तथा वडा सदस्य राहुलकुमार शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

तालिममा ठूला ठूला परियोजना र आयोजना तथा स–साना कार्यक्रमहरू प्राप्त गर्नका लागि लेखिने प्रस्ताव (प्रपोजल) का बिषयमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सहजीकरण गरेका थिए । 

विभिन्न टोल विकास समितिका ३३ जना सहभागी तालिमको वडाध्यक्ष संग्रौलाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका सम्पादक पूर्वेलीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा सचिव नन्दलाल आचार्यले  बजेट सिमित हुने तर जनताका आवश्यकता र माग असिमित हुँदा कतिपय आवश्यकता खड्किएका कार्यक्रमहरु पनि समयमै गर्न नसक्ने बाध्यताबारे बुझिदिन आग्रह गरे । रेजिना गौतमले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष शुशिला संग्रौला लगायतको उपस्थिति रहेको थियो ।