शरणामती।

झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई जग्गादाताले बहिस्कार गरेका छन् । गत आइतवार बाजागाजा तथा झाँकीसहित उद्घाटन गरिएको कार्यक्रमलाई गाउँपालिकाको प्रशासनिक भवनका लागि जग्गा प्रदान गर्ने पाँच जनाले बहिस्कार गरेका हुन् । 

भवन निर्माणका लागि स्थानीयदाता नगेन्द्रप्रसाद राजवंशी, चन्द्रकला राजवंशी, देबेन्द्रसिंह राजबंशीको १०.५ कठ्ठा, आदुलदेवी राजवंशीको १.५ कठ्ठा, चित्रबहादुर श्रेष्ठको १ कठ्ठा र निताई राजवंशीले ४ कठ्ठा संयुक्त रुपमा सत्र कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए ।

झापा गाउँपालिकाको पुरानो भाडाको प्रशासनिक भवन देखि नयाँ बनिएको भवनसम्म आउँदा झाँकि र बाजासहित जग्गादातालाईसँगै ल्याउने भनिएको र पछि कार्यक्रमा त्यसो नगरिएपछी दाता रुष्ट बनेको बताइएको छ। उद्घाटन कार्यक्रममा समेत रिबन काट्न जग्गादातालाई बोलाइएन, त्यसपछि पुन ः स्टेजमा बोलाउदासमेत सम्मानपत्र पहिलेनै दिएको बताउदै खदा ओढ्न बोलाएपछि जग्गादाता स्टेजमै नगएको स्थानीयले बताएका छन् ।

अमूल्य जग्गादान गर्ने दानबिरलाई उचित सम्मान नगरिएको भन्दै स्थानीयले टिप्पणी गरेका छन् । यता जग्गादाता भने रुष्ट भएर कार्यक्रम बहिस्कार गरेको दाता निकट स्रोतले बतायो।

भवनको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले गरेका थिए । स्थानीय सरकार सञ्चालन भएदेखि भाडाको घरबाट गाउँ पालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्बर ३ मा छुट्टै भवन निर्माण गरेसँगै अब आफ्नै भवनबाट सेवा प्रवाह गर्ने भएको छ ।

 कार्यक्रममा नेकपा एमाले अध्यक्ष गजेन्द्र ताम्लीले आफ्नो भवनको आफै उद्घाटन गरेको भन्दै आपत्ती जनाएका थिए ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष रुद्र बजगाईले जग्गादातालाई उचित सम्मान नगरेको भन्दै उचित सम्मान गर्न सके यस्ता दानबिरहरु पुन ः जन्मिने सुझाव दिएका थिए। 

एमाले अध्यक्षको आपत्तीमा खरो उत्रेका प्रमुख अतिथि साहले जनप्रतिनिधि नभएपछि कानुन नबुझेको हुन सक्ने भन्दै स्थानीय सरकारले ठिक गरेको भन्दै ताम्लीलाई उत्तर फर्काएका थिए।

१ करोड ५६ लाख ८४ हजार ७ सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन भएको थियो ।