झापा ।
हिन्दु धर्मालम्वीको मुख्य पर्वको रुपमा रहेको महाशिवरात्रि आज देशभरका विभिन्न शिवमन्दिरमा शिवको पूजा अर्चना गर्दै मनाईदै छ । आज यस पर्वको अवसरमा झापाका भगवान शिवका विभिन्न मन्दिरहरुमा विविध कार्यक्रम आयोजना गरी मनाइदै छ । त्यस्तै काठमाडौको पशुपतिनाथ मन्दिर परिसरमा शिवरात्रिको तयारी भव्य रुपमा गरिएको छ । आज शिवरात्रिको अवसरमा देशभर सार्वजनिक विदासमेत दिइएको छ ।
भगवान शिवजी उत्पत्ति भएको रातका नामवाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मानिदै आइएको छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ ।
निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुने विश्वास रहँदै आएको छ ।