झापा ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत झापामा केरा खेती कृषकलाई ढुवानीका लागि सवारीसाधन प्रदान गरिएको छ ।
झापा गाउँपालिका ३ रङ्गेथानको साधना सास्कृतिक नमुना कृषक समुहलाई केरा खेतीको प्रवद्धनका लागि ८५ प्रतिशत अनुदानमा पिकअफ भ्यान प्रदान गरिएको हो ।
२३ लाख ६० हजार रुपैँयाको उक्त पिकअफ भ्यान प्रदेश सरकारका कृषि मन्त्री झलकसिंह दर्लार्मीले शनिवार प्रदान गगेका हुन् । उक्त क्षेत्रमा हाल १०५ हेक्टर जमिनमा बस्नेतसहित १४ जना कृषकहरुले सामुहिक केरा खेती गरिरहेका छन् ।
कृषकको आफ्नो ढुवानी साधन नहुदा आफ्नो उत्पादन विक्रीका लागि विचौलियाहरुको भर पर्नु परेको कृषक चन्द्र बस्नेतले बताए । बस्नेत केरा खेतीका लागि इजरायलमा साना किसान कृषि सहकारी मार्फत तालिम लिई हाल सामुहिक केरा खेती गर्दै आएका हुन् । अब कम्तीमा आफ्नो उत्पादन नेपालभर पुर्याउन मद्धत मिलेको कृषक बस्नेतको भनाई छ ।
कृषि मन्त्री मगरले कृषिमार्फत देशलाई आत्मनिर्भर बनाउन सरकार लागि परेको बताए । मेहनती कृषकको साथमा सरकार रहेको भन्दै कृषकलाई प्रविधिमैत्री र स्रोत साधनयुक्त बनाउन प्रदेश सरकार सधै तत्पर रहेकोउनको भनाई थियो । उन्नत मल विउ र प्रविधि दिनका लागि सरकार सधै तयार रहेको भन्दै मन्त्री मगरले युवालाई विदेश जान छाडेर देशकै माटोमा रमाउने वातावरण बनाउने बताए । कृषिमन्त्री मगरले तीनै तहको सरकार कृषकलाई उचित ज्ञानसीप र प्रविधि दिन तयार रहेको भन्दै कृषकको उत्पादनलाई समेत उचित मुल्य दिलाउन लागिपरेको बताएका छन् ।
कार्यक्रममा झापा गाउँपालिकाका प्रमुख जयनाराया शाहले झापा गाउँपालिका केरा र मकै खेतीका लागि देशकै नमुना भएपनि कृषकले उचित मुल्य नपाउदा समस्या भएको बताएका छन् ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहले कृषि पेशालाई पुर्ण व्यावसायिक बनाउन सरकार लागि परेको बताए । सोही अवसरमा कृषकलाई कृषि सामाग्री समेत प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन अगुवा कृषक गोपाल प्रसाईले गरेका थिए ।