झापा ।

झापा गाउँपालिकाको प्रशासनिक भवन उद्घाटनसँगै सेवा शुरु भएको छ । भवनको उद्घाटन आइतवार गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले गरेको हुन् । 

भवन निर्माणका लागि स्थानीयदाता देवेन्द्र राजवंशी, चन्द्रकला राजवंशी, आदुलदेवी राजवंशी, चित्रवहादुर श्रेष्ठ र निताई राजवंशीले निःशुल्क जग्गा प्रदान गरेका थिए । एक करोड ५६ लाख ८४ हजार सात सय ७९ रुपैयाँको लागतमा निर्मित गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन भएको हो । 

साढे चार वर्षसम्म भाडाको घरबाट गाउँ पालिकाको सवै सेवा प्रवाह गरेको गाउँपालिकाले वडा नम्वर ३ मा छुट्टै भवन निर्माण गरेसँगै अब नयाँ भवनबाट सेवा प्रवाह गर्ने भएको छ । 

झापा गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष मोतिलाल गणेशको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी, नेपाली कांगे्रसका तर्फबाट सागीरथ गणेश,  नेकपा एमालेबाट जगेन्द्र ताम्ली, नेकपा माओवादी केन्द्रबाट रुद्र वजगाईलगायतले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडा सदस्य मोहन पोखरेलले गरेका थिए ।