बिर्तामोड । 

अखिल नेपाल ट्रेड युनियन महासंघ झापाले २१ औं मजदुर बलिदान दिवसको अवसर पारेर दुईजनालाई सम्मान गरेको छ । महासंघले बुधवार (आज) बिर्तामोडमा बेपत्ता मिसी धिमालका भाई कुसी धिमाल र सहिद टेकनारायण राजवंशीका पिता सोपलाल राजवंशीलाई सम्मान गरेको हो । 

उनीहरुलाई महासंघ प्रदेश नं.१ का इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथि भूपाल सापकोटाले सम्मान गरेका थिए । महासंघ झापाकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सापकोटा, नेकपा माओवादी केन्द्र प्रदेश नं. १ कमिटी सदस्य कुवेर श्रेष्ठ अरुणलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

hhh

स्वागत अखिल नेपाल ढुवानी मजदुर संघ झापाका कार्यबाहक अध्यक्ष जानकीप्रसाद भट्टराईले गरेको कार्यक्रमको सञ्चालन महासंघ झापा सदस्य जगनाथ पौडेलले गरेका थिए ।  

२०५८ फागुन ११ गते कालिकटको कोटवाड बिमान स्थल निर्माण गर्न गएका १८ जना मजदुरलाई तत्कालिन शाही सेनाद्धारा निर्मम हत्या गरिएको थियो । ती मृतक मजदुरको सम्झनामा प्रत्येक बर्ष महासंघले मजदुर बलिदान दिवस मनाउँदै आएको महासंघ झापा अध्यक्ष सापकोटाले जानकारी दिइन् ।