• उद्धव पुरी 

हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिका वडा नं. २ मा पछिल्लो समयमा भएको स्थानीयले वडाबाट पाउने सेवा/सुविधा तथा विकाससँगै बसाई सराई गरेर आउनेको संख्या बढेको छ । 

वडाअध्यक्ष राजेन्द्र योङहाङले ५ बर्षको अवधिमा त्यहाँका स्थानीयलाई प्रदान गरेको सेवा/सुविधा र रोजगारीका अधिकांश कलकारखानाका कारण अन्य छिमेकी पालिका तथा जिल्लाबाट बसाई सराई गरी आउनेको संख्या बढेको हो । 

छिमेकी पालिकाहरु कचनाकवल, बाहदशीसहित अन्य जिल्लाहरु पाँचथर, ताप्लेजुङबाट बसाई सराई गरी आउनेको संख्या बढेको वडासचिव बाबुराम ढकालले जानकारी दिए । 

हाल उक्त वडामा एम्बुलेन्स सेवा, विपन्नको घरमा निःशुल्क वाइरिङ, स्वास्थ्य विमा, निःशुल्क शिक्षा, सूचना तथा सञ्चार, कृषि सिचाईमा सहुलियत, सडकबत्ति, सीसी क्यामेरा जडानलगायतका सेवा/ सुविधा वडाले उपलब्ध गराएको छ । 

सोही कारणले पनि अन्य पालिका तथा जिल्लाबाट बसाई सराई गरी आउनेको संख्या ह्वात्तै बढेको वडाअध्यक्ष राजेन्द्र योङहाङले बताए । 

‘यस आर्थिक बर्षमा मात्र एकसय ५० वढी परिवार बसाईसराई गरी यस वडामा आएका छन्’ अध्यक्ष योङहाङले भने ‘त्यसको कारण रोजगारीको सम्भावना र अवसर साथै वडाले दिने सेवा/सुविधा पनि हुनसक्छ ।’

एम्बुलेन्स सेवा अन्तरगत वडाबासी सवैलाई विरामी हुँदा एकपटक देशभरका लागि ५० हजार रुपैयाँसम्म एम्वुलेन्स खर्च दिइने गरेको, विपन्नलाई निःशुल्क घरमा वाइरिङबापत १० हजार रुपैयाँसम्म प्रदान गरिदै आएको, स्वास्थ्य विमा कार्यक्रम अन्तरगत वडाका अपाङ, पत्रकार, घाइते, जेलबन्दी, मजदुर, स्वास्थ्य स्वयम सेविका, बिद्यालय कार्यालय सहयोगी, बालशिक्षक, पूर्णकालीन सदस्यलगायतलाई विमा गराइएको अध्यक्ष योङहाङले बताए । 

त्यस्तै शिक्षा कार्यक्रम अन्तरगत वडाका सवै सामुदायिक बिद्यालयका कक्षा ५ सम्मका बालबालिकालाई शैक्षिक सामाग्री, सूचना तथा सञ्चार अन्तरगत एक गाउँ एक वाइफाई जडान, कृषि सिचाई अन्र्तगत मिटरमा उठेको विलको आधा रकम भुक्तानी, सडकबत्ती १६ किलोमिटरमा र थप ८/१० किलोमिटरमा सडकबत्ती जडानको काम गरिने,  सीसी क्यामेरा जडान अन्तरगत  वडाका ५ वटै सामाुदायिक बिद्यालयमा सीसी क्यामेरा जडानलगायतका उल्लेखनीय काम भएको वडा सचिव ढकालले बताएका छन् । 

त्यसैगरी वडामा वाइरिङ, ट्वाइलेट र खानेपानीका लागि २० देखि २५ हजार रुपैयाँसम्म प्रदान गरिदै आएको बताइएको छ । त्यस्तै वडाका सवै मुख्य सडकहरु कालोपत्रेको अन्तिम चरणमा पुगेका छन् भने नयाँ स्वास्थ्य चौकी भवनबाट ल्यावसहितको निःशुल्क स्वास्थ्य सेवा समेत उपलब्ध गराउन थालिएको वडा अध्यक्ष योङहाङले बताएका छन् ।