झापा ।

 स्वदेशी उत्पादनले मूल्य नपाइरहेको अवस्थामा इण्डोनेसियाबाट सुपारी आयात गर्न सरकारले ब्यापारीलाई अनुमति दिएको भन्दै सुपारी जोन झापाले आपत्ति गरेको छ ।

एक हजार हेक्टरमा खेती गरिएमा सुपरजोन घोषणा गरी सरकारले लगानी बढाउने कृषि नीति विपरित २७ सय हेक्टर क्षेत्रफलमा सुपारी खेती गर्दा पनि सरकारले जोनमात्र भनिदिएर लगानी न्यून भएको अवस्थामा अझ विदेशबाट आयात गर्न अनुमति दिएर कृषकमाथि कुठाराघात गरिरहेको कृषकहरुले आरोप लगाएका हुन् ।   

सुपारी जोन समन्वय समिति झापाका संयोजक निलकण्ठ तिवारीले एक विज्ञप्ती प्रकाशित गरी स्थानीय उत्पादनले आवश्यकता पूरा गरेको अवस्थामा बाहेक कोटा तोकेर विदेशी वस्तु आयात गर्नुपर्नेमा स्थानीय कृषक र व्यापारीलाई तहसनहस बनाउने गरी सुपारीको आयात गर्न दिएको प्रति घोर निन्दा र भत्सर्ना गरेका छन् ।

पाँच वर्षसम्म जोनमा अल्मल्याएर सुपारी खेतीप्रति बेवास्ता गरिएको उनले निन्दा गर्दै विज्ञप्तीमा भनेका छन् ‘सुपरजोन घोषणा गर्नुपर्नेमा जोनलाई नै हटाउने सरकारको मनसाय देखिएको हुँदा झापामा सुपारी सुपरजोन घोषणा गर्न र विदेशी सुपारी आयात बन्द गर्न सरकारसँग जोडदार माग गर्दछ ।’