बिर्तामोड ।
सन्थाल/सन्ताल समुदायवीचको एकता तथा पहिचान र अधिकार प्राप्तीका लागि गोलमेच छलफलको आवश्यकता औल्याइएको छ । आइतबार बिर्तामोडमा संवाद समूह झापाको संयोजनमा भएको छलफलमा सन्थाल समुदायका अगुवाहरुले एकता कायम गरी पहिचान र अधिकारका लागि गोलमेच छलफलमा जोड दिए ।
सन्थाल समुदायका सबै संस्थाका प्रतिनिधि, समुदायबाट सरकारमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा अगुवाहरुको गोलमेचबाट पहिचान र अधिकार प्राप्तिको आगामी मार्गचित्र तय गर्न सहभागीको सुझाव छ । छुट्टा छुट्टै रुपमा आवाज उठाउदा पहिचान र अधिकार संघर्ष परिणाममुखी हुन नसकेको उनीहरुको निष्कर्ष छ ।
उनीहरुले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो समुदायको पहुँच वृद्धि गर्दै वडा सदस्य, वडा अध्यक्ष, पालिका उपप्रमुख र प्रमुखसम्म सन्थालहरुको प्रतिनिधित्व सुनिश्चित गरिदिन राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् । त्यस्तै हरेक राजनीतिक दलका सबै तहका समिति र सरकारी क्षेत्रमा सन्थालका लागि आरक्षणको व्यवस्था हुनुपर्ने नेपाल सन्थाल आदिवासी उत्थान संघका केन्द्रीय अध्यक्ष सुन्दर बस्राले बताए ।
कार्यक्रममा संविधान सभा सदस्य तथा अन्तर्राष्ट्रिय सन्थाल परिषद्का उपाध्यक्ष मोहन टुडु, संघका महासचिव कुन्दन मुर्मु, नेपाल सन्थाल आदिवासी उत्थान संघ झापाका अध्यक्ष लखन हेमरम , नेपाल सन्थाल विकास संघ झापाका सचिव देवान टुडु, उत्थान संघका गाउँ अध्यक्ष निस्पेटर मुर्मु, नेपाल सन्थाल विकास संघ हल्दिबारीका अध्यक्ष सोम मुर्मु, संघका जिल्ला सदस्य मोहन हेमरम, डिल्ली टुडु लगायतले छलफलमा विभिन्न धारणा राखेका थिए ।