विर्तामोड । 

जयेन्द्र प्रसाई साहित्य सेवा कोषद्वारा प्रत्येक वर्ष वितरण गरिंदै आएको पुरस्कार तथा सम्मान शनिबार वितरण गरिएको छ । यस बर्षको वर्षोत्कृष्ट कृतिबाट २०७७ सालमा प्रकाशित कृतिमध्येबाट संक्रमण उपन्यासका लेखक राजेन्द्र संग्रौला, विष्णु, चन्द्र पद्मा दीर्घ साहित्य सम्मान २०७८ बाट झापाको धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालय र धनमाया बर्षोत्कृष्ट सक्रिय महिला पत्रकारिता पुरस्कारबाट पत्रकार मनिषा चम्लागाईंलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता र साहित्यकार तथा नेपाल सरकारका पूर्व मुख्य सचिव भोजराज घिमिरेको प्रमुख आतिथ्यमा पुरस्कार वितरण गरिएको हो । पुरस्कृत कृति, संस्था तथा व्यक्तिलाई प्रमुख अतिथि घिमिरे, संस्थाका अध्यक्ष तथा अतिथिहरु सम्मान पत्र तथा पुरस्कारको राशी समान २१÷२१ हजार नगदसहित सम्मान पत्र रहेको थियो । पुरस्कृत सम्मान पत्र डिल्लीराम प्रसाई र लोकराज ढकालले वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार मोहन भण्डारी, पुरस्कृतका तर्फबाट राजेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत महासचिव छविलाल खतिवडाले गरेका थिएभने सञ्चालन सचिव राजेन्द्र प्रसाईले गरेका थिए ।