इलाम ।
इलामको सुर्योदय नगरपालिका–३ स्थित फिकल–पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्योदय नगरपालिका–१ का २३ बर्षीय सौगात राई रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे पशुपतिनगरतर्फ जाँदै गरेको को.१ज ३५८९ नम्वरको बलेरो गाडीले बिपरित दिशाबाट आउदै गरेको मे.११प ८४९ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा चालक सौगात राई र पछाडि सवार रहेकि २५ बर्षीया सम्झना राई घाईते भएका थिए ।
घाईते दुबैलाई उपचारको लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।