झापा ।
बम जस्तो शंकास्पद वस्तु राखेको आरोपमा विभिन्न मिति तथा स्थानबाट पक्राउ परेका नौजनालाई जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।
गत माघ ९ गते विर्तामोड वडा नं ४ स्थित पश्चिम बस स्टेण्डमा बम जस्तो देखिने शंकास्पद प्रेसर कुकर र ‘हिमाल सुरक्षा परिषद’ को नामको पर्चाहरु फेला परेको साथै माघ १३ गते दमक नगरपालिका वडा नं ५ स्थित सिवान चर्चको गेटमा सोही प्रकृतिको शंकास्पद बस्तु प्रेसर कुकर र परिषदको नामका पर्चाहरु फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उक्त घटनापछि १ नं प्रदेश प्रहरी कार्यालय बिराटनगर क्षेत्रिय अनुसन्धान समुह, ,जिल्ला प्रहरी कार्यालय झापा, ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय दमक झापाको संयुक्त प्रयासबाट सो गतिविधिमा संग्लग्न व्यक्तिहरुलाई फरक फरक मितिमा विभिन्न स्थानबाट पक्राउ गरी बिहीवार सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा झापा गौरादह–२ का ३८ बर्षिय सुमनकुमार कार्की मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । कार्की घटना सम्बन्धी योजना बनाउने तथा भारतमा बसी आर्थिक संकलन गरेर अपराधिक गतिबिधीमा प्रयोग गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको जनाइएको छ । उनको साथबाट हिमाल सुरक्षा परिषदको पर्चा, पम्प्लेट, स्ट्याम्प, चन्दा माग्ने गरेको सिमकार्डहरु र आर्थिक सहयोग गरिदिने बारेको पत्र समेत वरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै कन्काई–३ का ४१ बर्षिय भिष्म थापा, दमक–९ का ५० बर्षिया देवी बास्कोटा (गुरागाई), कनकाई–४ का ५८ बर्षिय कुमार भन्ने यमदत्त सिटौला, शिवसताक्षी–१ का ३२ बर्षिय सरुण लिम्बु भन्ने दिलकुमार सामेखाम, संखुवासभा खाँदवारी– १० सित्तलपाटी घर भई हाल सुन्दरहरैचा–६ मोरङ्ग बस्ने २९ बर्षिय मनमोहन दाहाल, गौरीगञ्ज–३ का ३२ बर्षिय आनन्द भन्ने अनन्तप्रसाद गिरी, गौरादह–५ का ३३ बर्षिय प्रदीप थापा र गौरीगञ्ज–३ का ४५ बर्षिय विजयकुमार दास हलुवाई रहेका छन् ।
पक्राउ परेका नौ जनै पुजारीदेखि लिएर बिभिन्न पेशा तथा अधिकांश अपराधिक गतिविधिमा कैद सजाय भोगेका ब्यक्तिहरु रहेका छन् । उनीहरुको साथबाट पार्टीको पर्चा तथा पार्टीको बिभिन्न जिम्मेवारीमा रहेको प्रमाण उनीहरुले प्रयोग गरेका सामाग्रीहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।