बिर्तामोड ।
झापाको बिर्तामोड नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुको लागि पोशाक वितरण कार्यक्रम शुरु गरेको छ । नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत कक्षा ५ सम्मका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गर्न शुरु गरिएको हो ।
बुधबार नगरप्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, नगरका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, शाखा अधिकृत दिनेशप्रसाद आचार्य, शिक्षा अधिकृत जानुका रेग्मी, केशरबहादुर खवाससहितको टोलीले ४ वटा विद्यालयमा पुगेर पोशाक वितरण गरेको हो ।
बिर्तामोड नगरपालिका ६ बुट्टाबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा १६४ जना, वडा नम्बर ७ विरानमा रहेको लक्ष्मी आधारभुत विद्यालयमा ८३ जना, जनता प्राथमिक विद्यालय खालवाडीमा १४७ जना र वडा नम्बर ८ देवनियाँमा रहेको शुक्रराज आधारभुत विद्यालयमा १६८ जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले सामुदायिक विद्यालयमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताए । अभिभावकहरुले पोशाक खरिद गर्न नसकेका कारण विद्यार्थीहरु विद्यालय जानसमेत नमान्ने गरेको भन्दै उनले पोशाक वितरणले विद्यालयप्रति आकर्षण समेत बढ्ने बताए ।
यस्तै उपप्रमुख पवित्रा महतारा प्रसाईले दैनिक ज्यालादारी गरेर छोराछोरी विद्यालय पठाएपनि ड्रेस किन्न नसक्ने अवस्थामा रहेका अभिभावकहरुलाई मध्यनजर गर्दै पोशाक वितरण गरिएको बताए । कतिपय विद्यार्थीहरुले आफसँग अरुको जस्तो ड्रेस नभएका कारण मन दुखाउने, हिनता वोध गर्ने भएकाले पनि विद्यार्थीहरुमा एक रुपता ल्याउन पोशाक वितरण गरिएको बताए ।
यस्तै शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोशाक वितरणको मुख्य उदेश्य समाता कायम गर्नु रहेको बताए । उनले सबै बालवालिकाहरुलाई एउटै प्रकारको पोशाकमा, एउटै खालको वातावरणमा घुलमिल हुन सिकाउने उदेश्यले यो कार्यक्रम अघि बढाइएको बताए । पोशाक वितरणले वालवालिकाहरुलाई विद्यालयमा नियमित गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
पोशाक वितरण कार्यक्रममा बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङ्गवा, वडा नम्बर ७ की कार्यवहाक वडाध्यक्ष चन्द्रकला पकुवाल, सिएच गार्मेन्ट विर्तामोडका सञ्चालक मोती गौतम, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । विहिबारदेखि नगरका २ वटा धार्मीकसहित बाँकी १६ वटा सामुदायिक विद्यालयमा पुगेर पोशाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।


















