बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले आठौं नगरसभामा पेश गरिएका तिन वटा विधेयकमाथि छलफल गरी पारित गरेको छ । मंगलबार आयोजित नगरसभाले नगरको विधायन समिति संयोजक गिता घिमिरेले प्रस्तुत गरेकी विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७८, कृषि पशुपंछि तथा मत्स्य विकास विधेयक २०७८ र बिर्तामोड नगर प्रहरी गठन तथा संचालन विधेयक २०७८ सर्वसहमतिले पारीत भएको हो ।
नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा आयोजित नगरसभामा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले चालु आर्थिक वर्ष २०७८÷०७९को अर्धवार्षिक प्रगति विवरण पेश गरेकी थिइन् ।
नगर उपप्रमुख प्रसाईले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदनमा वार्षिक जम्मा चालु खर्च ६४ करोड ३५ लाख १४ हजार रुपैयाँ प्रस्ताव गरीएकोमा हालसम्म २० करोड ६२ लाख ११ हजार ८ सय रुपैयाँ खर्च भएको र पूँजीगत खर्च ६२ करोड ६५ लाख ८ हजार ५ सय रुपैयाँ खर्च गर्ने प्रस्ताव गरीएकोमा १४ करोड ५ लाख १५ हजार २ सय रुपैयाँ खर्च भएको उल्लेख गरीएको छ । यस अवधिमा उपभोक्ता समिति मार्फत २०८, ठेक्का प्रक्रियाबाट १९, अमानतबाट ९० र संघ संस्थाबाट २० गरी जम्मा ३३७ वटा योजना सम्झौता भएको जनाइएको छ । सम्झौता भएका योजनाहरुमध्ये १८६ वटा सम्पन्न भएको र १५१ वटा कार्यान्वयनको चरणमा रहेको पनि जनाइएको छ ।
सभाका प्रमुख अतिथि प्रदेश १ सांसद एकराज कार्कीले बिर्तामोड नगरपालिकामा यो पाँच वर्षको अवधिमा चौतर्फी विकास भएको बताए । उनले सडक, पुल, कल्र्भट, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगायतका सबै क्षेत्रमा उल्लेखनिय विकास भएको भन्दै नगरपालिकाको प्रशंसा गरे ।
यस्तै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बिर्तामोडमा धेरै रचनात्मक कार्यहरु गरीएको बताए । कर्मचारीकाकारणले पनि जनप्रतिनिधिलाई काम गर्न सहज भएको भन्दै उनले यस अवधीमा बाख्रा साँटासाट, बंगुर साँटासाट, सचेतना शिक्षा,सडक, पुल निर्माणलगायतका क्षेत्रमा महत्वपुर्ण कामहरु गरेको बताए । विकासका कामहरुमा बिर्तामोड अग्रपंक्तिमा रहेको भन्दै उहाँले यस ५ वर्षको अवधीमा ५०६ वटा विपन्न आवास निर्माण गरेर परिवारलाई हस्तान्तरण गरेको बताए । नगरको लक्ष्य ७०६ वटा रहेको र लक्ष्य प्राप्तीको लागि नगर अघि बढेको पनि जानकारी दिए ।
कार्यक्रममा बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, वडा नम्बर १०का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले यस अवधिमा भए गरेका गतिविधिहरुको बिषयमा जानकारी दिए । नगरसभामामा नगरपालिकाका विषयगत शाखा प्रमुखहरुले आ–आफ्ना शाखाबाट चालु आर्थिक वर्षमा भएगरेका विकासको प्रगति विवरण प्रस्तुत गरेका थिए । सभामा प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।


















