लक्ष्मीपुर।
पत्रकार मदन राजवंशीलाई धम्की तथा गालीगलौज गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ झापा शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गौरीगञ्जस्थित सोसियल मिरर मिडिया प्रा.लि.द्वारा सञ्चालन गौरीगञ्ज दर्पण डटकमका प्रधानसम्पादक राजवंशीलाई समाचारको विषयलाई लिएर स्थानीय सञ्जय महतोले धम्की दिएका थिए । उक्त धम्कीप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको मंगलवार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।
गौरीगञ्ज–३ का महतो मार्फत बैदेशिक रोजगारका लागि भिजिट भिषामा दुबई पुगेका ११ जना युवा अलपत्र पारेको विषयलाई लिएर महताले फागुन २ गते पत्रकार राजवंशीलाई हात काटिदिने धम्की दिएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको सचिव डिकेश लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।
कुनै पनि प्रकाशित प्रशारित समाचारप्रति चिन्ता नबुझे वा कुनै गुनासो रहे त्यस उपर कानूनी उपचारमा जाने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउँदै गालीगलौज तथा हत्तोत्साहित गर्ने कार्य प्रेस विरोधी काम भएको महासंघको ठहर गदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ झापा शाखाले प्रेस विरोधी हर्कतप्रति खेद व्यक्त गर्दै संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस खाले गतिविधि नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ ।


















