आइतबार बिर्तामोडमा भएको एक छलफलका सहभागीहरुले सन्थाल समुदायबीचको एकतामा जोड दिएका हुन् । सहभागीले बृहत एकता कायम गरी सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।
सन्थाल समुदायलाई अपहेलित गर्ने ‘सतार’ शब्द र त्यसको अर्थको ब्याख्या समेत शब्दकोष तथा विभिन्न दस्तावेजबाट हटाउन उनीहरुले माग गरेका छन् । आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो समुदायको पहुँच वृद्धि गर्दै वडा सदस्य, वडा अध्यक्ष, पालिका उपप्रमुख र प्रमुखसम्म सन्थालहरुको प्रतिनिधित्व सुनिश्चित गरिदिन राजनीतिक दलको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै आफ्नो समुदायका बालबालिकालाई मातृभाषामा पठनपाठनको संवैधानिक हकको रक्षा गर्न समेत उनीहरुको अपिल छ । सन्थाल समुदायको आर्थिक, सामाजिक, सशक्तिकरण र समस्या समाधानका लागि उनीहरुले तिनै तहको सरकार समक्ष माग पनि गरेका छन् ।
सन्थाली सामाजिक संस्था रिलोमाला सन्थाली अखडा नेपालका अध्यक्ष रिमिल श्यामसुन्दर बेश्रा, सन्थाल जाति उत्थान सेवा समाजका किशन मुर्मू, रिलोमालाका सहसचिव सुरेन्द्र हेमरम, सन्थाली वर्णमालाका सम्पादक शिव मुर्मू, सन्थाल जाति उत्थान सेवा समाजका टिका हस्दा, सञ्चारकर्मी रिमा टुडू लगायतले छलफलमा विभिन्न धारणा राखेका थिए ।
संवाद समूहको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । उनीहरुले सन्थाल समुदायको प्रतिनिधित्व गर्ने आधिकारिक संस्था, अगुवाहरु तथा जनप्रतिनिधिहरु बीचको गोलमेच छलफलबाट समुदायका सबैखाले समस्या समाधानमा अग्रसर हुने प्रतिबद्धता जनाएका हुन् ।