धनकुटा ।
धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गर्न थालेको छ । जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने अभियान थालेको हो ।
महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७ का १० जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ, सहायक महिला विकास निरीक्षक गिता लुइटेल लगायतले बृद्धबृद्धाहरुलाई सिरक वितरण गरे ।
कार्यक्रममा नगर प्रमुख नेपालले जाडोयाममा कठ्यांग्रिएर बस्न नपरोस् भनेर बृद्धबृद्धाहरुलाई सिरक वितरण गरिएको बताए ।
महालक्ष्मी नगरक्षेत्रमा ८० बर्षमाथिका करिब ३ सय ५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ । उनीहरु सबैलाई सिरक वितरण गरिने नगर प्रमुख नेपालले जानकारी दिए । धेरै बृद्धबृद्धाहरु हिड्न नसक्ने भएकाले उनीहरुको अवस्था अनुसार घर–घरमै पुगेर वा वडा–वडामा परिवारका सदस्यलाई बोलाएर सिरक वितरण गर्ने तयारी गरिएको छ । सिरक वितरणका लागि वडा कार्यालयहरुमार्फत ८० बर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरिएको थियो । सो तथ्यांकका आधारमा सिरक वितरण गरिने नगरपालिकाले जनाएको छ ।
नगरले स्वास्थ्य शिविर सञ्चालन गरेर बृद्धबृद्धाहरुलाई निःशुल्क दाँत लगाइ दिएको छ । उनीहरुलाई लौरो, हटव्याग वितरण गरिएको छ । त्यस्तै, बृद्धबृद्धाहरुको अनुभव संकलन गर्ने काम पनि गरिएको छ । बृद्धबृद्धाहरुलाई सम्मान र उचित स्याहार सुसारको खाँचो हुँने भएकाले उनीहरुको सम्मान स्वरुप र आवश्यकता अनुसार नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नगर प्रमुख नेपाल बताउँछन् ।