बिर्तामोड । 

पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल .सीके अंकल) ले विहीबार पत्रकार सहारा उपचार कोषलाई २५ हजार तीन सय ३३ रुपैयाँ प्रदान गरेका छन् ।

ढकालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि उक्त रकम प्रदान गरेका हुन् । गत कात्तिक १२ गते आफ्नो जन्मोत्सवको अवसर पारेर ढकालले कोषमा सहयोगको घोषणा गरेका थिए ।

पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र कार्यसमिति सदस्य होमप्रकाश अधिकारीलाई ढकालले कोषका लागि नगद रकम हस्तान्तरण गरेका हुन् ।

१८ वर्ष देखि पूर्वाञ्चल दैनिकमा आवद्ध रहेर क्रियाशील ढकाल लेखक तथा आध्यात्मिक साधकको रुपमा परिचित छन् । उनले पत्रकारको दिगो विकास र पत्रकारको हितमा योगदान गर्न सहयोग प्रदान गर्न लागेको बताए । महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ । आफू झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृस्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने ढकालले बताए ।

महासंघ झापा शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्था, सहकारी, बैंक तथा दाता सबैलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।