झापा ।
राष्ट्रिय भुमि आयोग र बिर्तामोड नगरपालिका विच भूमिहिन दलित, भुमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि सम्झौता भएको छ ।
आयोगको जिल्ला कार्यालय भद्रपुरमा नगरपालिका र आयोग विच दुई पक्षिय सम्झौता भएको हो । सम्झौतामा आयोगका झापा जिल्ला समिति अध्यक्ष तिलक सिंह पाण्डे, सदस्य दाताराम खनाल, बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा नगरपालिकाले भूमिहिन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान लगत संकलन र प्रमाणीकरणको काम गर्ने जनाइएको छ । यसपछि दुवै पक्षले जग्गाको पहिचान र छनोट गर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय भुमि आयोगले दोश्रो चरणमा बिर्तामोड नगरपालिकालाई छनोट गरेको हो । आयोगले पहिलो चरण अन्तर्गत जिल्लाको दमक, कनकाई, शिवसताक्षी र वुद्वशान्तिलाई छनोट गरेको थियो ।


















