लक्ष्मीपुर । 

केही बर्ष अघिसम्म आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यको मृत्यु हुँदा काजक्रिया खर्च जुटाउन निकै मुस्किल हुने गरेको थियो । तर, १८ बर्षअघि त्यसको समाधानका लागि स्थापना भएको सरहे समितिका कारण त्यो समस्या हट्दैको छ । 

सरहे कार्यक्रम भित्रका सदस्यको परिवारमा कसैको निधन भए प्रत्येक सरहे सदस्यले हाल एकसय रुपैयाँ त्यो घरमा आफै पुगेर आफ्नो नाम लेखेर प्रदान गर्नुपर्ने हुन्छ । ‘एकजनाले गरेर के हुन्छ, सवैजना मिलेर गरे जे पनि गर्न सकिन्छ’ भन्ने उदेश्यले स्थापना भएको सरहे समिति अहिले अति विपन्नका लागि वरदान सावित भएको छ । 

हाल अतिविपन्न परिवारको सदस्यको मृत्यु हुँदा काजक्रिया गर्न खासै समस्या नहुने गरेको सरहे समितिका अध्यक्ष अर्जुन रेग्मीले बताएका छन् । हालसम्म सरहे कार्यक्रममा २ सय ५१ घर परिवार सहभागी छन् । 

अतिविपन्न परिवारदेखि धनि परिवारलाई एउटै परिधिमा ल्याउने उदेश्यका साथ स्थापना भएको सरहे कार्यक्रमले १८ औं बार्षिक सधारणसभा तथा चौथो अधिवेशन सम्पन्न गरेको छ । 

झापाको अर्जुनधारा नगरपालिका वडा नं.–५ स्थित विहीवारेको सरहे समितिले शनिवार (आज) साधारणसभा तथा अधिवेशन सम्पन्न गरेको हो । 

सरहे समितिका अध्यक्ष अर्जुन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा–५ की वडा सदस्य सकुन्तला घिमिरेको प्रमुख आतिथ्य रहेको थियो । टेकबहादुर गिरीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष रेग्मीले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

अधिवेशनले पुनः अर्जुन रेग्मीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेकोे छ । समितिको सचिवमा टेकबहादुर गिरी र कोषाध्यक्षमा कला भण्डारी चयन भएका छन् । 

त्यस्तै सदस्यमा इन्दिरा महतरा, देवीबहादुर गुरुङ, शिवकुमार श्रेष्ठ, भिमप्रसाद नेपाल, सोमनाथ दाहाल, इन्द्रबहादुर दाहाल, धर्मराज प्रसाई, देवेन्द्रकुमार थापा, कुमारी कार्की, देवीचरण गिरी र कृतिका कार्की रहेका छन् भने एक सदस्य समितिको पहिलो बैठकले मनोनयन गर्ने अध्यक्ष रेग्मीले बताए । 

छुट्टा भिन्न परिवारबाट सरहेको सदस्य बन्न चाहेका ५ सय र नयाँ प्रवेशलाई २ हजार ५ सय रुपैयाँ सरहे समितिले शुल्क तोकेको छ ।