बुटवल ।
प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकातर्फ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप शनिबार बिहान ३ बजे अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खस्दा दुर्घटनामा भएको थियो ।
दुर्घटनामा ६ जनाका घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको हो । गौमुखी गाउँपालिका(६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।
सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
दुर्घटनामा पाँच जना घाइते भएका छन् भने बेहुलाबाहेक सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।