मोरङ ।
हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका–४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ घर भई हाल काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम रहेका छन् ।
पक्राउ परेका मध्ये दिनानाथलाई मोरङ विराटनगर महानगरपालिका –५ दामाबन्दी चोकबाट अनिल कुमारलाई काठमाडौं महानगरपालिका –१३ बल्खु र नासिर आलमलाई मोरङकै विराटनगर महानगरपालिका– १७ मटेरूवाबाट हिजो पक्राउ गरिएको थियो ।
गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका–७ बस्ने दिलिप सिंहको उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका–४ ठेगाना भएका ३२ वर्षीय शम्भु कुमार चौधरी र माघ १३ गते सुनसरी धरान उपमहानगरपालिका–३ ठेगाना भएका ४८ वर्षीय राजेन्द्र कुमार श्रेष्ठको गाडिएको अवस्थामा शव फेला परेको थियो ।
घटनाको अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका–८ गोठाटार बस्ने तेह्रथुम सक्रान्ति–२ घर भएका ६३ वर्षीय मोहन लिम्बुको पनि हत्या गरी गाडिएको भनि खुल्न आएपछि महानगरीय अपराध महाशाखा काठमाडौंसँग समन्वय गरी ललितपुर गोदावरी नगरपालिका–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घर रहेको कम्पाउण्डमा उनको शव फेला परेको हो । खाल्डो खन्न र पुर्न प्रयोग भएको १ थान कोदालो तथा ६ प्याकेट आयो नुन प्रहरीले बरामद गरेको छ ।
कारोवारको रकम एकलौटी बनाउने उद्देश्यले उनीहरुको हत्या गरिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको छ घटनाको बिषयमा थप आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।