काठमाडौं ।

पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।

बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरी आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज  देशका धेरै स्थानमा हल्कादेखि मध्यसम्म वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपात सुरु हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाको  पूर्वानुमान बुलेटिनअनुसार आजदेखि शनिबारसम्म देशव्यापी रूपमा वर्षा तथा हिमपात हुने सम्भावना छ।