बिर्तामोड ।

 झापाको बिर्तामोड –भद्रपुर सडक खण्डस्थित भद्रपुर नगरपालिका–१० देवनियामा सवारी दुर्घटना गराएर फरार रहेका ब्यक्तिलाई अझै प्रहरीले पक्राउ गर्न सकेको छैन ।   घटना भएको ५ दिन बिति सक्दासमेत प्रहरीले दुर्घटना घटाउने ब्यक्तिलाई पक्राउ नगरेकोप्रति घाइतेका परिवारले आपत्ति जनाएका हुन् । 

गत माघ १५ गते बिर्तामोड–भद्रपुर राजमार्ग अन्र्तगत देवनियामा बिर्तामोडबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३८७ नम्बरको स्कुटीलाई विपरित दिशाबाट आउँदै गरेको मे ९ प ९१४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्दिा दुर्घटना भएको थियो । 

दुर्घटनामा स्कुटी चालक बिर्तामोड नगरपालिका वडा नं. ३ की बर्ष ३८ की तारा न्यौपाने (दर्लामी) र उनकी १० बर्षिया छोरी अनुषा दर्लामी घाइते भएका थिए । घाइते ताराको अनुहार र छातीमा चोट लागेको थियो भने छोरी अनुषा सामान्य घाइते भएकी थिइन् । 

दुवैजना आमाछोरीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको पारिवारिक स्रोतले बताएको छ । मोटरसाइकल र स्कुटी जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ भने मोटरसाइकल चालक बिर्तामोड–४ का नितेश दर्नाल हालसम्म फरार रहेको नेकपा माओवादी केन्द्र प्रदेश नं. १ सदस्य तथा ताराका श्रीमान ज्योतिसिंह दर्लामीले बताए । दुर्घटना भएको ५ दिन वितिसक्दा पनि अहिलेसम्म मोटरसाइकल चालक फरार  रहेकाले पक्राउ गरी कानुनी दायारामा ल्याउन श्रीमान दर्लामीले आग्रह गरेका छन् । 

तारा अस्पताल विकास समिति प्रदेश १ की उपाध्यक्ष समेत रहेकी छिन् ।