झापा ।
अमेरिकामा बस्दै आएका झापाको झापा बजार स्थायी घर भएका विशाल भारतीले सन् २०२१ को ‘सर्वोत्कृष्ट स्वयम्सेवक’ बाट पुरस्कृत भएका छन् ।
भारतीले आफू काम गर्दै गरेको नर्थ क्यारोलिनाको वेल्स फार्गो बैंकबाट वर्ष उत्कृष्ट स्वयम्सेवकको पुरस्कार हात पारेका हुन् । २०२१ भरि गरेको सामाजिक कार्यका लागि उनलाई उत्कृष्ट स्वयम्सेवकको पुरस्कार दिइएको हो । सन् २०२२ मा उनी नेपालका हरेक प्रदेशको एउटा विद्यालयमा कम्प्युटर प्रयोगशाला बनाउने अभियानका लागि सहयोग गर्दैछन् ।
पुस्कारको राशि १५ सय डलर (नेपाली एक लाख ८० हजार रुपैयाँ) छ । भारती उक्त बैंकमा विगत १० वर्षदेखि म्यानेजरका रुपमा कार्यरत छन् । समुदायमा विशिष्ट योगदान पुर्याएवापत बैंकले यो पुरस्कार प्रदान गरेको बताउँदै भारतीले भने ‘पुरस्कारवापत आएको रकम पनि नेपालका गरिब तथा दुःखीहरुको सेवामा खर्च गर्नेछु ।’
उनले नेपालमा आएका विभिन्न विपदमा पनि स्वच्छिकरुपमा सहयोग गर्ने गरेका छन् । महामारीका वेला उनको संयोजनमा अमेरिकाबाट विभिन्न प्रदेशमा २१ वटा अक्सिजन सिलिण्डर पठाएका थिए । अघिल्लो महिना मात्रै उनले भारतमा मजदुरी गर्ने क्रममा विरामी भएर उपचार गर्न खर्च अभाव भएका दुई जनाका लागि अभियान चलाएर उपचार खर्च जुटाइदिएका थिए ।
उनी २०७२ सालमा सोही बैंकको ‘स्टार म्यानेजर अफ द एयर’को रूपमा समेत सम्मानित भएका थिए । बिशालले डिल्लीराज माध्यमिक बिद्यालयबाट २०५४ सालमा एसएलसी पास गरेका थिए । शंकरदेव क्याम्पसबाट बीकम सकेपछि उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००५ मा अमेरिका पुगेका थिए । सन् २००७ मा बैंकमा टेलरका रुपमा काम थालेका उनी ४ बर्षभित्रै म्यानेजर बनेका थिए ।