बिर्तामोड ।
नोबेल शिक्षण अस्पतालका सञ्चालक तथा समाजसेवी डा.सुनिल शर्माले झापाको विर्तामोड–१० स्थित सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरेका छन् । डा.शर्माले नोबेल अस्पतालको तर्फबाट करिब १२ लाख मुल्य पर्ने एम्बुलेन्स निःशुल्क प्रदान गरेका हुन् ।
विर्तामोडमा शनिवार नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले समाजका अध्यक्ष नविन विमलीलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरे । चावी हस्तान्तरण गर्दै प्रवन्धक दाहालले डा.सुनिल शर्माले यसअघि गरेको घोषणा बमोजिम सहयोगी समाजलाई एम्बुलेन्स प्रदान गरिएको बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य ओम सरावगी, सहयोगी समाजका अध्यक्ष एवं नेपाली कांग्रेस झापाका सचिव विमली, विर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङ्ग लगायतले एम्बुलेन्स प्रदान गरेर सहयोग पुर्याएको भन्दै नोबेल अस्पतालका सञ्चालक डा.शर्माको सेवा भावको प्रशंसा गरे ।