झापा । 

हुलाकी राजमार्ग अन्तर्गत भद्रपुर–राजगढ सडकखण्डमा पर्ने हल्दीबारी गाउँपालिका र बाह्रदशी गाउँपालिका जोड्ने भुतेनी खोलाको पुल अधुरो हुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। 

राष्ट्रिय गौरवको आयोजना मार्फत हुलाकी राजमार्ग अन्तर्गत दुई पालिकाका सिमाना जोड्ने सडक खण्डमा पर्ने सो खोलामा पुलको काम पूरा नहुँदा दुई गाउँपालिकाका बासिन्दाको यात्रा जोखिमपूर्ण बनेको हो। 

राजमार्गको काम सुरु भए लगत्तै  खोलामा पुल निमार्णको काम शुरू भएको थियो । तर, निर्माण समयाधि सकिएको भएता पनि हालसम्म निर्माण सम्पन्न नहुँदा स्थानीयले आवत–जावतमा समस्या व्यहोर्नु परेको छ ।  यात्रुलाई अन्यत्रबाट आवतजावत गर्ने बैकल्पिक बाटो (डाईभर्सन) बनाएको छैन भने पुल निर्माण कार्य समेत पूरा हुन सकेको छैन ।  बिगत ३÷४ बर्षदेखि उक्त बाटोमा यात्रा गर्नेले दैनिक सास्ती खेप्नु परेको स्थानीय प्रेम राई बताउँछन् । 

‘बल्लबल्ल पुल ढलाई त भयो, अब रेलिङ्ग, ढुङ्गा जाली, दुई पट्टी बाटो र पुललाई जोड्न माटो भर्ने र रंग रोगनको काम कहिले कति वर्षमा गर्ने हो थाहा छैन’ स्थानीय मानबहादुर तामाङले भने ‘यहाँ दैनिक दुईदेखि तीन वटासम्म मोटरसाइकल दुर्घटना भईरहेका छन् ।’ 

 हल्दीबारी गाउँपालिका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देनले भने ‘यो राष्ट्रिय गौरवको आयोजना हो, संघीय सरकारबाट ठेक्का भएर काम शुरू भएको हो, ठेकेदारको लापरबाहीले  जनताले दुःख र सास्ती खेप्नु परेको छ।’ उनले थपे ‘एउटा ठेकेदारले ठेक्का लिने,अनि अर्कोलाई त्यहीँ काम जिम्मा दिने, अर्कोले फेरि त्यहीँकाम अर्कोलाई दिने भएकोले यस्तो भएको हो, अहिले ठेकेदार पालिकाको समेत सम्पर्कमा छैन ।’ सम्बन्धित कार्यालयलाई  पालिकाले ध्यानाकर्षण गराइसकेको  लिङ्देनले बताए ।  उनले आईतबार  सो पुलको स्थलगत अनुगमन गरी सामान्य प्रयत्नले यात्रुलाई यात्रा गर्न सहज र सरल बनाउने उपायको खोजी गर्ने बताउँदै  बाह्रदशी गाउँपालिका अध्यक्षसँग समेत समन्वय गर्ने बताएका छन् ।